कञ्चनपुर। अविरल भारी वर्षाका कारण निम्तिन सक्ने आकस्मिक बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुर जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले सम्भावित विपद्बाट नागरिकको जीउधनको सुरक्षाका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको हो।
प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक मदन कोइरालाको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले विपद्को समयमा तत्काल उद्धार, राहत तथा सुरक्षित आश्रयको प्रबन्ध मिलाउने निर्णय गरेको छ। वर्षाका कारण सहरी तथा ग्रामीण क्षेत्रमा पानी जम्न नदिन ढल तथा नहर सफाइ, निकास खुलाउने र अवरोध हटाउने कार्यलाई तीव्रता दिइएको प्रजिअ कोइरालाले जानकारी दिनुभयो। जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल नजिकैका विद्यालय तथा सार्वजनिक भवनमा सार्न स्थानीय तहहरूसँग समन्वय भइसकेको छ।
विपत्तिको समयमा सेवा अवरुद्ध हुन नदिन नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलाई प्राविधिक जनशक्ति तैनाथ राख्न निर्देशन दिइएको छ। साथै आकस्मिक उपचार सेवाका लागि महाकाली प्रादेशिक अस्पतालसहित जिल्लाभरका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय साहका अनुसार आइतबारसम्म कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको र विशेषगरी शनिबार उच्च जोखिम रहने पूर्वानुमान छ। जोखिम बढेसँगै भीमदत्त, दोधारा चाँदनी, बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिकाले खोज तथा उद्धार सामग्री तम्तयार राख्दै सामुदायिक विपत् समितिलाई सक्रिय बनाएका छन्। स्थानीय तहहरूले माइकिङमार्फत महाकाली, जोगबुडा, स्याली, सुनबरा, वनहरा र दोदा नदी किनारका बासिन्दालाई सतर्क रहन तथा नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेका छन्।




