धौलीगङ्गाको बाँध खोलिने: महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति:

डडेलधुरा । भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरू आगामी असोज ११ गतेदेखि खोलिने भएको छ। बाँध खोलिएपछि महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेलधुराले अनुरोध गरेको छ।

भारतको एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन, धारचुला (पिथौरागढ) बाट प्राप्त पत्रअनुसार जलाशयमा जम्मा भएको सिल्ट (बालुवा तथा हिलो) सफाइ गर्नका लागि बाँधका ढोकाहरू खोल्न लागिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ११ गते राति १२ बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म तथा सफाइको सम्पूर्ण प्रक्रिया करिब ३४ घण्टासम्म चल्नेछ।

बाँध खोलिएपछि र सफाइ अवधिभर महाकाली नदीको जलस्तर अकस्मात् बढ्न सक्ने सम्भावना छ। सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाद्वारा जारी सूचनामा महाकाली नदी किनार तथा तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन र नदी किनारमा नजान आग्रह गरिएको छ।

ताजा समाचार