धनगढी। कैलालीमा कुकुरको मासु भन्दै बिक्री–वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ६५ वर्षीय सुरेश नेपाली रहेका छन्।
उपभोगका लागि बिक्री गर्न काटेर राखिएको मासु कुकुरको भएको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मासुसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यद्यपि, बरामद गरिएको मासु कुकुरकै हो वा अन्य कुनै चौपायाको भन्ने विषय औपचारिक रूपमा पुष्टि भइसकेको छैन। मासुको वास्तविक स्रोत पहिचान गर्न नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रयोगशाला परीक्षणको प्रतिवेदन आएपछि मात्रै तथ्य खुल्ने र हाल पक्राउ परेका व्यक्तिमाथि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।




