दुई सन्तान गुमाएकी दोर्णालाई अर्को बज्रपात : नौ महिनाको गर्भ बोकेर बाढीले बेपत्ता श्रीमान्‌को किरियामा

प्रकाशित मिति:

रोल्पा। रोल्पा नगरपालिका–१०, धबाङकी २८ वर्षीया दोर्णा डाँगीको जीवनमा नियतिले एकपछि अर्को कठोर बज्रपात थपिदिएको छ। यसअघि नै दुई सन्तान गुमाएर गहिरो शोकमा रहनुभएकी दोर्णा हाल पेटमा नौ महिनाको गर्भ बोकेर बाढीले बेपत्ता पारेका श्रीमान्‌को काजकिरिया बस्न विवश हुनुभएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत उहाँका श्रीमान् लेखराज रोका क्षेत्री बेपत्ता हुनुभएको थियो। एक महिनासम्म खोजी गर्दा पनि सास वा लासको कुनै पत्तो नलागेपछि अन्ततः परिवारले आशा मारेर कुशको शव बनाई परम्पराअनुसार अन्तिम संस्कार सुरु गरेको हो। सोही बाढीमा लेखराजका साढुदाइ राजेन्द्र महतसमेत बेपत्ता भएकाले दुई दिदीबहिनी (अमृता महत र दोर्णा डाँगी) सँगै किरियामा बस्नुभएको छ।

विगतमा नौ महिनाकी छोरी र छ महिनाको छोरालाई उपचारकै क्रममा गुमाउनुभएकी दोर्णाका लागि गर्भको शिशु श्रीमान्‌को अन्तिम चिनो र बाँच्ने सहारा बनेको छ। चिकित्सकले यही असोज २० गते प्रसूतिको सम्भावित मिति दिएका छन्। शारीरिक रूपमा पूर्ण आराम र पोषण चाहिने संवेदनशील समयमा उहाँ किरियाको कठोर नियममा बाँधिनुपरेको छ।

विरामी सन्तानको उपचार गर्दा लागेको पुरानो ऋण, किरिया खर्च र सुत्केरीका लागि आवश्यक रकमको अभावले परिवार चरम आर्थिक संकटमा परेको छ। स्थानीय तहबाट उचित राहत र सहयोग नपाएको गुनासो गर्दै परिवारजनले सुरक्षित प्रसूति, पोषण र नवजात शिशुको स्वास्थ्य रक्षाका लागि मानवीय सहयोगको याचना गरेका छन्।

ताजा समाचार