नेपाली चढेको तुइन एसएसबीले काटिदिँदा महाकालीमा खसेर एक युवा बेपत्ता

महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटका जयसिंह धामी शुक्रबार विहानै काठमाण्डौँ जान घरबाट टिकाटालो गरि सरमुकाम खलंगा तिर लागे । विहान ८ बजे ८ वर्षको छोरा,२ वर्षकी छोरी र श्रिमतीलाई राम्रो संग बस्नु म छिट्टै फर्केर आउछु भन्दै घरबाट विदा भएका धामी कहिले नफर्किने गरि विचबाटोमै अस्ताए । बैदेशिक रोजगारीका लागि काठमाण्डौँ जानलागेका धामी गन्तव्यमा पुग्न सकेनन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धामी चढेको तुइन काटिदिँदा महाकाली नदीमा खसेर धामी बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ का वडाध्यक्ष बिरेन्द्र सिंह बुढाथोकीका अनुसार बेपत्ता भएका धामीको गाउँ मालघाटँँबाट नेपालको बाटो हुदै सदरमुकाम खलंगा आउँदा झण्डै दुई दिन लाग्छ । तर भारतीय गस्तुको बाटो प्रयोग ग¥यो भने दुई घण्टामै खलंगा पुगिन्छ ।

त्यसैले यहाँका नेपाली सदरमुकाम सम्म पुग्न त्यही भारतको बाटो बढी प्रयोग गर्छन । त्यहीक्रममण आज जयसिंह धामीपनि भारतको पिथौडागढको गस्तु र नेपालको मालघाट जोड्ने माहाकाली नदी माथीको अस्थाई तुइन भएर नदि तरिरहेको अवस्थामा भारतिय एसएसबीले तुइन काटिदिँदा उनि महाकाली नदिमा खसेर बेपत्ता भएका छन् ।

‘बैदेशिक रोजगारीको तयारीका लागि काठमाण्डौँ जानलाग्नु भएको दाईलाई हामीले आज विहान टिकाटालो गरि घरबाट पठाएका थियौँ ।’ जयसिंह धमीका भाई नरेन्द्र धामीले भने ‘तर दाई मालघाटबाट भारतको गस्तु भएर सदरमुकाम जानेक्रमका भारतिय एसएसबीले तुइन काटिदिँदा त्यहाँबाट खसेर महाकाली नदिमा बेपत्ता हुनु भएको छ ।’ खलंगा जान शुक्रवार बिहान जयसिंहसँग गाउँकै ६/७ जना अरु पनि आएका थिए । ‘जयसिंह सहित गाउँका अरु ६÷७ जना मान्छेपनि सदरमुकाम आएका थिए ।’वडाध्यक्षले भने ‘अरुले तुइन मार्फत नदि पार गरिसकेका थिए तर जयसिंह धामीले नदि पार गर्दा एक्कासी एसएसबीले तुइन काटेपछि उनि त्यहाँबाट नदिमा खसेर बेपत्ता भएका हुन् ।’

जयसिंहका भाई नरेन्द्रका उनकाअनुसार मालघाटका नेपालीहरु ५/६ दशक देखि त्यही तुइनबाट भारतको बाटो हुदै सदरमुकाम आउने जाने गर्दै आएका छन् । यद्यपी भारतिय एसएसबीले यो भन्दा पहिला यसरी तुइन काटेका थिएनन् । यता प्रहरीले भने प्रतक्षदर्शी नभएका कारण घटना कसरी घट्यो भनेर अझै पत्ता नलागेको र अनुसन्धान भइरहेको जनाएको छ । हाल बेपत्ता भएका धामीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवत्ता एवम् प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

‘अहिले नेपाल प्रहरी,शशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको छ ।’ प्रहरी निरीक्षक चन्दले भने ‘हामीले पारी एसएसबी र जिल्ला प्रहरी कार्यालय बैतडी,डडेल्धुरा र कञ्चनपुरमा पनि शव भेटिए सम्पर्क गर्न भनेर सम्पर्क गरिसकेका छौ ।’

ताजा समाचार