दार्चुलाको महाकाली घटनाबारे छानविनका लागि गृह मन्त्रालयको टोली घटनास्थलतर्फ प्रस्थान

१८ साउन काठमाडौँः दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानविन समितिको टोली सोमबार दिउँसो घटनास्थल तर्फ प्रस्थान गरेको छ ।

समितिका संयोजक जनार्दन गौतमसहित समितिको टोली दिउँसो २ बजे त्रिभुवन विमानस्थलबाट कैलालीको धनगढीतर्फ प्रस्थान गरेको हो । भोलि मंगलबार मात्रै धनगढीबाट हेलिकप्टरबाट दार्चुला जाने तालिका छ ।

उक्त समितिले घटनास्थलमा पुगेर सत्यतथ्य पत्ता लगाइ छानविन गर्ने बताइएको छ । छानविन समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । समितिमा संयोजक गौतमसहित नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् । गत साता महाकाली नदीमा तुइन तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी वेपत्ता भएका छन् ।

ताजा समाचार