‘मामालाई एसएसबीले महाकालीको भेलमा खसालेरै छाडे’

महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका–२ मालका कल्याण सिंह धामीले नेपालको मालघाट र भारतको गस्कु जोड्ने महाकाली नदीमाथि रहेको तुइनमार्फत व्यासवासीलाई ओहोरदोहोर गराउन थालेको २१ वर्ष भयो । शुक्रबार पनि कल्याण सिंह अरू दिन झै बिहानै ७ बजे सदरमुकाम जाने व्यासवासीलाई तुइनमार्फत महाकाली नदी तराउन तुइन भएको स्थान मालघाटतर्फ लाग्नुभयो । ‘म अरू दिन झै बिहान उठेर तुइन भएको ठाउँ मालघाटतिर जाँदै थिए घरबाट अलि तल पुगेपछि हाम्रै गाउँका बहादुर धामी, अमर धामी, गौर धामी र मनी धामी भेटिए ।’ कल्याण सिंहले भन्नुभयो, ‘उनीहरू सदरमुकाम खलंगा जान लागेका रहेछन् ।’ उहाँले अगाडि भन्नुभयो, ‘त्यहाँबाट हामीसँगै मालघाट गयौँ, र मैले तिनीहरूलाई तुइनमार्फत महाकाली तारेँ । त्यसपछि म महाकालीको किनारमा अलि आराम गरिरहेको थिएँ । त्यहीबेला फेरि त्यहाँ हाम्रै गाउँका विक्रम रंगोली, अनिता धामी र जयसिंह धामी ९जयसिंह नातामा मेरो मामा पर्नुहुन्छ० आउनुभयो ।’ उहाँले भन्नुभयो, ‘त्यसपछि मैले मामा जय सिंहलाई कहाँसम्म जान लाग्नुभयो मामा रु भनेर सोधेँ उहाँले कामको खोजीमा काठमाडौंसम्म जान लागेको भान्जा भनेर उहाँ नदी तर्न तुइनमा चढ्नुभयो ।’ उहाँले भन्नुभयो, ‘मामा जयसिंह तुइनको बीच भागमा पुग्नुभएको थियो । एक्कासि माथिबाट दुईजना एसएसबी आएर रूखमा बाँधेको तुइनको फलामे डोरी फुकाल्न थाले, हामीले वारिबाट तुइनमा मान्छे छन् त्यो नखाल्नु भनेर एसएसबीलाई चिच्चायांै, इसारा ग¥यौं । तर, एसएसबीले हाम्रो कुरा सुनेनन्, त्यो तुइनको डोरी खोलेर एसएसबीले मामा जयन्द्रलाई हेर्दाहेर्दै महाकालीको भेलमा खसालेरै छाडे ।’

मामा जयन्द्र सिंह पारि पुग्न एक÷दुई मिटर मात्र बाँकी थियो । त्यहीबेला एसएसबीले तुइनको डोरी खोलिदिँदा नदीमा खसेको कल्याण सिंहले बताउनुभयो । ‘एसएसबीले तुइन काटेपछि मामा नदीमा खस्नुभयो । नदीमा खसेको ३० सेकेन्डसम्म हामीले उहाँलाई महाकालीको भेलमा देख्यौँ तर घटना पारितिर भएको कारण हामीले उहाँलाई हेर्नबाहेक केही गर्न सकेनौँ ।’

शुक्रबार भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले धामी चढेको तुइन काटिदिँदा महाकाली नदीमा खसेर धामी बेपत्ता हुनुभएको छ । व्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्र सिंह बुढाथोकीका अनुसार बेपत्ता हुनुभएका धामीको गाउँ मालबाट नेपालको बाटो हुँदै सदरमुकाम खलंगा आउँदा झण्डै दुई दिन लाग्छ । तर, भारतीय गस्कुको बाटो प्रयोग ग¥यो भने दुई घण्टामै खलंगा पुगिन्छ । त्यसैले यहाँका नेपाली सदरमुकामसम्म पुग्न त्यहीँ भारतको बाटो बढी प्रयोग गर्छन् । त्यहीक्रममा जयसिंह धामी पनि भारतको पिथौडागढको गस्कु र नेपालको मालघाट जोड्ने माहाकाली नदीमाथिको अस्थायी तुइन भएर नदी तरिरहेको अवस्थामा भारतीय एसएसबीले तुइन काटिदिँदा उहाँ महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

‘वैदेशिक रोजगारीको तयारीका लागि काठमाडौं जानलाग्नु भएको दाइलाई हामीले टीकाटालो गरी घरबाट पठाएका थियौँ ।’ जयसिंह धामीका भाइ नरेन्द्र धामीले भन्नुभयो, ‘तर, दाइ मालघाटबाट भारतको गस्कु भएर सदरमुकाम जानेक्रमका भारतीय एसएसबीले तुइन काटिदिँदा त्यहाँबाट खसेर महाकाली नदीमा बेपत्ता हुनुभएको छ’ उहाँले भन्नुभयो, ‘आठ वर्षको भतिजो, दुई वर्षकी भतिजी र भाउजू टुहुरा भएका छन् ।’ यता, प्रहरीले भने घटना कसरी घट्यो भनेर अझै पत्ता नलागेको र अनुसन्धान भइरहेको जनाएको छ ।

भारतीय पक्षको जवाफ-तुुइनबाट युुवक खसेको घटनामा एसएसबीको संलग्नता छैन

जयन्द्र सिंह धामी महाकाली नदीमा तुुइनबाट खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतीय एसएसबीको संलग्नता नरहेको दाबी गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । ‘शुुक्रबार हामीले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले शनिबार लिखित जवाफ पठाउनुुभएको छ,’ दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, ‘तुुइन तर्ने क्रममा नसकेर युुवक आफैँ खसेका हुुन् । बाहिर आए जस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’ प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी स्वरूपले पत्रमा उल्लेख गरेको जानकारी दिनुभयो ।

‘ड्युटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो,’ पत्रमा उल्लेख भएको कुुरा बताउँदै प्रजिअ जोशीले भन्नुभयो, ‘तर, उहाँहरूको घटनामा कुनै खालको संलग्नता छैन ।’ घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोलीसमेत महाकाली नदीमा परिचालन गरिसकेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसक्नुभएको छ ।

एसएसबीविरुद्ध परिवारको उजुरी

धामीका आफन्तले आइतबार भारतीय सीमा सुरक्षा बल ९एसएसबी० विरुद्ध उजुरी दिएका छन् । तुइन काट्ने भारतीय सीमा सुरक्षा बलविरुद्ध जयसिंह धामीका आफन्तले तुइन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहसिलको पागला प्रहरी थानामा उजुरी दिएका हुन् ।

घटनाबारे सत्यतथ्य बुझेर मुचुल्का तयार गर्न स्थानीय जोगासिंह धामी र बहादुर सिंह धामीले धार्चुलाको पागला प्रहरीमा उजुरी दिनुभएको हो । उहाँहरूले घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न भारत र नेपालका प्रशासनलाई अनुरोधसमेत गर्नुभएको छ ।

विसं। ०७४र०७५ मा तुइन भएको मालघाटमा पुल बनाउन नेपाल सरकारको तर्फबाट सहमति भएको थियो । सोका लागि ठेक्का सम्झौता पनि भएको थियो । पुल निर्माणको काम सुरु पनि भएको थियो । तर, ठेकेदारले विभिन्न बहाना गर्दै पुलको काम सुरु नगरेको स्थानीयको आरोप छ । तुइन विस्थापनअन्तर्गत व्यास गाउँपालिकाको मालघाटमा झोलुंगे पुल निर्माणका लागि खम्पाचेररुविना जेभी काठमाडौंले दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौतासमेत गरेको थियो ।

गृह मन्त्रालयद्वारा घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

गृह मन्त्रालयले दार्चुलामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइन काटेर नेपाली नागरिकको हत्या गरेको घटनाबारे छानबिन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा आइतबार पाँच सदस्यीय एक समिति गठन गरेको हो ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट सदस्य हुनुहुन्छ । घटनाबारे सत्यतथ्य बुझेर १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई म्याद दिइएको छ । यता, घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गर्दै २२ राजनीतिक दलले पनि आइतबार विज्ञप्तिमार्फत माग गरेका छन् ।

खोजी कार्य जारी

शुक्रबारदेखि बेपत्ता हुनुभएका धामीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवत्ता एवं प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । ‘अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको छ ।’ प्रहरी निरीक्षक चन्दले भन्नुभयो, ‘हामीले पारि एसएसबी र जिल्ला प्रहरी कार्यालय बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पनि शव भेटिए सम्पर्क गर्न भनेर सम्पर्क गरिसकेका छौं ।’ विभिन्न निकायबाट खोजी भइरहे पनि धामी आइतबार साँझसम्म पनि फेला पर्नुभएको छैन ।

गत जेठमा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार अहिले पनि देशभर १४ वटा तुइन प्रयोगमा छन् । नदीहरू तर्न नेपालीहरू तुइनको भर पर्न बाध्य छन् । अनि यी १४ मध्ये महाकालीमा मात्र ११ तुइन रहेको सर्वेक्षणमा देखिएको छ । यी तुइन भएका चार ठाउँमा यसअघि नै भारतीय सरकारसँग नेपाल सरकारले झोलुंगे पुल बनाउने सम्झौता गरिसकेको छ ।

ताजा समाचार