दार्चुला घटनाः छानविन समिति आज खलंगा पुग्दै

दार्चुला । महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर वेपत्ता भएको घटना बारे अध्ययन गर्न गठित कार्यदलको टोली आज दार्चुला सदरमुकाम खलंगा पुग्दैछ। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेको बेला भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का दुई जवानले तुइन चुँडालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्।

घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिका सदस्य हिजो दार्चुलाका लागि हिडे पनि डडेलधुरामा बसेर आज दार्चुला पुग्दैछन । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

समितिका सदस्यहरुसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी वेपत्ता हुँदाका तीनजना प्रत्यक्षदर्शीलाई व्यासबाट खलंगा ल्याइएको छ । अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलंगा आएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिइन । प्रत्यक्षदर्शी बिक्रम रंकोली, कल्याण सिंह धामी र अनिता धामी सोमबार राति करिब पौने आठ बजे जिल्ला सदरमुकाम दार्चुला पुगेको साहयक प्रजिअ जोशीले बताइन ।

प्रत्यक्षदर्शीको सुरक्षाका लागि तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका छन्।

ताजा समाचार