भीमदत्त नगरपालिका तोडफोडमा संलग्न काँग्रेस कार्यकर्तालाई कारवाहीको माग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शिक्षक संघको धर्नामा सुरक्षाकर्मीमाथि हातपात र नगरपालिका तोडफोडमा संलग्न काँग्रेस कार्यकर्तालाई कारवाहीको माग गरेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै शिक्षक संघको नाममा नगरपालिका कार्यालयमा तोडफोड, ढुङ्गा र सिसा प्रहार, सुरक्षाकर्मी, नगर प्रहरीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

नगर प्रवक्ता चन्दले भीमदत्तका मेयर सुरेन्द्र विष्टलाई व्यक्तिगत रुपमा गालीगलौज गरिएकोमा विज्ञप्तिमा आपत्ति जनाएका छन् । उनले मेयरलाई गालीगलौज र सुरक्षाकर्मीमाथि हातपातप्रति नगरपालिकाका ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

शिक्षक संघको आन्दोलनलाई समर्थन गर्दै काँग्रेस नेता कार्यकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गर्न थालेपछि सुरक्षाकर्मीसित झडप हुन पुगेको हो । झडपमा परी काँग्रेसका कार्यकर्ता सहित शिक्षक, जनप्रतिनिधि, सुरक्षाकर्मी र नगर प्रहरी घाइते भएका छन् ।

सुरक्षाकर्मीसित झडप हुँदा काँग्रेसको शिक्षक संघका शिक्षक सहित पार्टी र संगठनका नेता कार्यकर्ता र केही अधिकारकर्मी सहभागी भएका छन् ।

तालाबन्दी गर्ने क्रममा काँग्रेस कार्यकर्ताले सुरक्षाकर्मीको लाठी खोसेपछि दुबै पक्षबीच झडप हुन पुगेको हो । झडपछि उनीहरुले कार्यालय बाहिर आएर नगरपालिकामा ढुङ्गा र सिसा प्रहार गरी क्षतिग्रस्त बनाएका छन् ।

नगर प्रवक्ता चन्दले शिक्षक दरबन्दीका सबै मापदण्ड पालना गरी दरबन्दी मिलान गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । शिक्षक संघले दरबन्दी मिलान प्रक्रिया सम्मत नभएको भन्दै नगरपालिकामा धर्ना बसेको छ ।

ताजा समाचार