महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली काँग्रेस चुनाव हारेको कारण जिल्लामा विकासले गति नलिएको दावि गरेका छन् ।
शनिबार प्रजातन्त्रवादी प्राध्यापक संघ सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले आयोजना गरेको दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता लेखकले जिल्लामा काँग्रेस हारेका कारण विकासले गति नलिएको बताएका हुन् ।
‘सुदूरपश्चिमाञ्चल विश्व विद्यालय हामीले बनाएका हौँ ।’ कार्यक्रममा दशैँ तिहारको शुभकामना दिदैँ नेता लेखकले भने ‘यदि यो विश्व विद्यालय मात्रै कम्युनिष्टहरुले बनाएका भए उहाँहरु ३ पटक यो क्षेत्रबाट चुनाव जित्ने थिए । तर हामीले विश्व विद्यालय,महाकाली पुल,करिडोर लगाएका विकासका काम गर्दापनि चुनाव जितेनौँ ।’ उनले अगाडी थपे ‘काँग्रेस हारेकै कारण पछिल्ला ५ वर्षमा कञ्चनपुरमा विकासले गति लिएको छैन । अब जिल्लालाई ट्रांजिक्ट हवका रुपमा विकास गर्न काँग्रेसले चुनाव जित्नु पर्छ ।’
त्यस्तै उनले सुदूरपश्चिमाञ्चल विश्व विद्यालयलाई ठुलो,राम्रो विश्व विद्यालय बनाउन आफुले सक्दो साथ सहयोग गर्नेमा जोड दिए । ‘यो विश्व विद्यालयलाई देशकै टियु पछिको ठुलो र राम्रो विश्व विश्वविालयका रुपमा विकास गर्न मेरो पूर्ण साथ,सहयोग रहने छ ।’ नेता लेखकले भने ‘गेटा मेडिकल कलेज,गोकुलेश्वरको कृषि क्याम्पस लगाएतका कलेज,क्याम्पसलाई सुप विश्वविद्यालय अन्तर्गत ल्याउनु पर्छ र यसमा पनि मेरो सहयोग रहने छ ।’
प्रजातन्त्रवादी प्राध्यापक संघ सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका सभापति पुस्पराज जोशीले सुदूरपश्चिमाञ्चल विश्व विद्यालयलाई उत्कृष्ट विश्व विद्यालय बनाउन प्रजातन्त्रवादी प्राध्यापक संघ लागि परेको बताए । ‘हाम्रो विश्व विद्यालयलाई उत्कृष्ट विश्व विद्यालय बनाउन हामी र प्रजातन्त्रवादी प्रध्यापक संघ लागि परेको छ ।’ दशैँ तिहारको शुभकामना दिदैँ सभापति जोशीले भने ।
प्रजातन्त्रवादी प्राध्यापक संघ सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका सभापति जोशीको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सभापति हरी बोहरा,सचिव दिवाकर पाण्डे,सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका विभिन्न संकायका प्राध्यापक,उप–प्राध्यापक,कर्मचारी,काँग्रेस तथा नेविसंघका नेता लगाएतको उपस्थिति रहेको थियो ।