विषका कारण एकै परिवारका दुई जना बालकको मृत्यु

कार्तिक २९, रौतहट । रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो ।

दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘बालकहरुको विषका कारण मृत्यु भएको छ । घटना शंकास्पद रहेकाले हामीले अनुसन्धान गरिरहेका छौं, बालकहरुलाई कसले किन विष दियो भन्ने विषयमा हामी गम्भीर रुपमा छानबिन गर्छौं ।’

ताजा समाचार