गड्डाचौकी र बह्मदेव नाकामा मानव बेचविखन सम्बन्धि सचेतना तथा घरदैलो कार्यक्रम

महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले पश्चिमी सीमानाका गड्डाकाचौकी र बह्मदेवमा मानव बेचविखन विरुद्ध तथा सुरक्षित बसाइसराई र लैंङगिक हिंसा सम्बन्धी सचेतना तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार लैंगिक हिंसा विरुद्धाको १६ दिने अभियान अन्तरर्गत ‘घरबाटै सुरु गरौँ,महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ नाकामा सो कार्यक्रम गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ ।

बेचबिखन तथा सुरक्षित बसाइसराइ, घरेलु हिंसा, कोरोना भाइरसका सम्बन्धमा नागरिकलाई सचेत गर्नुका साथै जनचेतनामुलक पर्चा, ब्रसरहरु समेत वितरण गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।

‘मानव बेचबिखन विरुद्ध माइती नेपाल कञ्चनपुरले मानव बेचविखन तथा अन्य समस्या न्युनिकरणका लागि नाकामा विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको छ ।’ संयोजक भट्टले भनिन् ‘हामीले त्यहा जनचेतनामुलक पर्चा वितरण गर्नुका साथै नेपालबाट भारत जाने यात्रुहरुलाई समयमै सचेत गर्न सीमानाकामा सचेतना सामग्री समेत वितरण गरेका छौ ।’

उक्त सचेतना कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी गैरसरकारी संस्थाका प्रतिनिधि, कर्मचारीलगायत स्थानिय व्यापारी,समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

त्यस्तै सीमानाकाका स्थानियलाई मानव बेचविखन तथा ओसारपसार न्यूनिकरणका लागि स्थानियको भूमिका र स्थानियलाई सचेत गराउन १ सय १४ घरधुरीमा घरदैलो समेत गरिएको संयोजक भट्टले बताइन् । माईती नेपाल कञ्चनपुरका अनुसार घरदैलौ कार्यक्रमबाट ८४ जना बालिका, १ सय १४ जना बालक, १ सय ९४ जना पुरुष र २ सय २६ जना महिला गरी जम्मा ६ सय १८ जनालाई सचेत गरिएको छ ।

घरदैलोमा पनि जनचेतनामुलक पर्चा, ब्रसरहरु वितरण गर्नुका साथै सुरक्षित बसाइसराइ र मानव बेचबिखन विरुद्ध सम्बन्धी जानकारी दिएको थियो । मानव वेचविखन तथा अन्य हिंसा न्यूनिकरणका लागि माईती नेपाल कञ्चनपुरले निरन्तर यस्ता कार्यक्रम गर्दै आएको छ ।

ताजा समाचार