कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको मौलिक खानपान, संस्कृति र स्थानीय स्वादलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम थाली (सु.प. थाली)’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। थालीको सुरुवातबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले यसको उद्देश्य, उपलब्ध परिकार तथा मूल्यबारे जानकारी गराएका छन्।
ममताज काजबारका सञ्चालक तथा ‘सुदूरपश्चिम थाली’का प्रबन्ध निर्देशक धिरज चन्दको व्यवस्थापनमा सञ्चालनमा आएको थालीमा सुदूरपश्चिमको मौलिक स्वाद झल्काउने १० प्रकारका खानाका परिकार समेटिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै सञ्चालक चन्दले सुदूरपश्चिममा पुस्तौँदेखि चलिआएका स्थानीय तथा परम्परागत खानाका परिकारलाई एउटै थालीमा समेटेर नयाँ पुस्ता तथा बाहिरी क्षेत्रका नागरिकमाझ परिचित गराउने उद्देश्य रहेको बताए। सुदूरपश्चिमको पहिचान केवल भाषा, भेषभूषा र संस्कृतिमा मात्र नभई यहाँको मौलिक खानपानमा समेत रहेको उनको भनाइ थियो।
‘सुदूरपश्चिम थाली’मा ग्राहकको रोजाइ र आवश्यकताअनुसार विभिन्न प्रकारका खाना उपलब्ध गराइएको छ। भेज खाना रु. २२२, चिकेन खाना रु. ३३३, लोकल चिकेन खाना रु. ४४४ र मटन खाना रु. ५५५ मूल्य निर्धारण गरिएको सञ्चालक चन्दले जानकारी दिए।
उनका अनुसार थालीमा समेटिएका परिकारमा स्थानीय स्वाद र परम्परागत खानपानलाई प्राथमिकता दिइएको छ। आधुनिक खानाका परिकारको बढ्दो प्रयोगका बीच स्थानीय तथा मौलिक परिकारलाई व्यावसायिक रूपमा संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयासस्वरूप (सुदूरपश्चिम थाली) सञ्चालनमा ल्याइएको उनले बताए।
पत्रकार सम्मेलनमा सञ्चालक चन्दले स्थानीय उत्पादन तथा खाद्य सामग्रीको प्रयोगलाई प्राथमिकता दिँदै स्थानीय किसान तथा व्यवसायीलाई समेत जोड्ने उद्देश्य रहेको जानकारी गराएका छन्। यसले सुदूरपश्चिमको खानाको स्वाद लिन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम थाली लाई विस्तार गर्दै प्रदेशका विभिन्न मौलिक परिकारलाई थप समेट्ने र सुदूरपश्चिमको खानपानलाई प्रदेशबाहिर समेत चिनाउने योजना रहेको सञ्चालक चन्दले जनाएका छन्।




