सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ ।

आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानूनबमोजिम कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा थुप्रै कमी–कमजोरी, गल्ती गरेको र आफूखुशी भवन निर्माण गरेको पाइएको छ, नियमविपरीत काम गर्न दिने र काम गर्नेलाई कारबाही हुन्छ ।” दरबार सङ्ग्रहालयमा कमी–कमजोरी गर्ने जिम्मेवार व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारबाही हुनेसमेत उहाँले जानकारी दिनुभयो । “कफीसपका नाममा सङ्ग्रहालयको नाम–निसाना मेटिने गरी भवन निर्माण गर्न पाइन्छ रु”, उहाँले थप भन्नुभयो, “सङ्ग्रहालयभित्र नाचघर तथा वाइन सपका लागि पनि भवन बनाउँदै गरेको पाइयो, दोषी ठहरिएका जति सबैलाई कानूनबमोजिम कारबाही हुन्छ ।”

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयपछि उक्त समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण गरिरहेको थियो ।

ताजा समाचार