चुनावी प्रतिवद्धता पुरा गर्दै नगरप्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले चुनावमा जनतासामु गरेका प्रतिवद्धता पुरा गर्न शुरुवात गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको नगरपालिकाको निति,कार्यक्रम तथा बजेटमा मेयर बोगटीले चुनावमा जनतासामु गरेका प्रतिवद्धतालाई प्राथमितामा राखिएको छ ।

निर्वाचनमा नगरवासीसंग मेयर बोगटीले नगर क्षेत्रभित्रका ७५ वर्षमाथीका जेष्ठ नागरिकहरुको घरदैलोमा गएर मासिक रुपमा स्वास्थ्य चेकजाँच गरिने, गर्भवती महिलाई नगरभित्र निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने,विपन्न,जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन कोष स्थापना गर्नेे प्रतिवद्धतालाई नगरपालिकाको निति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

यस्तै लागुऔषध नियन्त्रण गरि दुव्र्यसनीमुक्त नगर बनाउन कार्यक्रम संञ्चालन गरिने,फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्यलाई अगाडी बढाउने, नगरपालिकाका गतिविधि त्रैमासिक रुपमा सार्वजनिकीकरण गरिने,ढल,खानेपानी,सडक,सिचाई तथा विद्युत समस्या समाधान गर्ने लगाएतका प्रतिवद्धता समेत निति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखिएको छ ।

भीमदत्तले ल्यायो सुदूरपश्चिममै सबैभन्दा बढी बजेट

भीमदत्त नगरपालिकाले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको ११ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ८४ करोड २ लाख १ हजारको बजेट पारित गरिएको हो । सुदूरपश्चिममा जम्मा ८८ स्थानिय तहमध्ये ८७ स्थानिय तहले निति कार्यक्रम तथा बजेट पारित गरिसकेका छन् ।

बाजुराको बुढिनन्दा नगरपालिकामा स्थगित गरिएको स्थानिय तहको निर्वाचन अझै हुन सकेको छैन । नगर सभाबाट बजेट पारित भइसकेका सुदूरपश्चिमका ८७ स्थानीय तहमध्ये भीमदत्तको बजेट सबैभन्दा बढी हो ।

सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उप–महानगरपालिकाको बजेट पनि भीमदत्तको भन्दा झण्डै एक करोड कम छ । धनगढी उप महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोड ८९ लाख २४ लाख बजेट ल्याएको छ ।

ताजा समाचार