कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै युवतीको मृत्यु

महेन्द्रनगर । कैलालीको जानकी गाउँपालिकामा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ।

प्रहरीका अनुसार दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको हो ।

रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमान‍्ले पासो काटेर अस्पतालमा पुर्‍याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बताए ।

बिहीबार दिउँसो मृतकका श्रीमान‍्ले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले‘अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई नियन्त्रणमा लिएकोर घटनाको अनुसन्धान भने जारी रहेको बताए ।

यता मृतकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतककी दिदी जमुना रावलले प्रेम विवाह गरेर आफूखुसी घरबाट कैलाली भागेर गएकी विष्णुले घटना भएको दिनसमेत आमासँग कुराकानी गरेको बताइन् ।

त्यसको केही घण्टामा मृत्युको खबर आएकाले घटना शंकास्पद रहेकोले निष्पक्ष अनुसन्धानको माग गरेकी छिन् ।

ताजा समाचार