घरमा आगलागी हुँदा एकको मृत्यु

महेन्द्रनगर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल घरमा आज बिहान आगलागी हुँदा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा एकको मृत्यु भएको छ भने एक घाइते छन् ।

आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको भक्तपुरको महानगरीय प्रहरी परिसरका प्रहरीले जानकारी दिए ।

आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उनले जानकारी दिए ।

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार