सुन्तला झर्न थालेपछि सोलुखुम्बुका किसान चिन्तित

महेन्द्रनगर । सोलुखुम्बुमा पाक्ने बेलाका सुन्तला झर्न थालेका छन् । थुलङदूधकोशी गाउँपालिका क्षेत्रको सुन्तला बोटमै किरा लागेपछि सुन्तला झर्न थालेका छन् । पाक्ने बेलाका सुन्तला किरा लागेर झर्न थालेपछि किसान चिन्तामा छन् ।सुन्तला भण्डारको रुपमा रहेको देउसा र रणेम क्षेत्रको सुन्तलामा औंसा लागेको किसानले बताए । बाहिरबाट हेर्दा आर्कषक देखिने अधिकांश सुन्तलाहरु भित्र औंसाले सखाप बनाईरहेको स्थानीयले बताएका छन् ।

किराको प्रकोपले पाकेर पहेँला भएका सुन्तला झर्ने समस्या बढेको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका किसान मणिकुमार राईले बताए । उनले भने, ‘वर्षभर मेहनत गरेर खेती गरियो तर बिक्री गर्ने समयमा प्रकोपले यसरी दुःख दियो, यसको उपचार के गर्ने भन्ने ज्ञान पनि हामीसँग छैन।’बोटबाट बिक्री नगर्दै सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने आँकलन गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत फल झरेर खेर गएको छ ।

गत वर्ष लाखौँको सुन्तला निर्यात भएको देउसा, रणेम क्षेत्रबाट यस वर्ष न्यून मात्रामा सुन्तला निर्यात हुने देखिएको किसान सुकुमाया राईको भनाइ छ । सुन्तलाको व्यवसायीकरणमा सघाउन देउसा, रणेम क्षेत्रमा जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको किसानको गुनासो छ ।

बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने किराका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न कृषि विज्ञको सुझाब छ ।

अहिले झरेका फलहरुको किरा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तलाखेती लोप हुने खतरा रहेको जानकार बताउँछन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जिल्लामा सुन्तला बगैँचामा किराको प्रकोप बढेको भन्दै किसानलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

झरेका फलबाट थप अन्य बोटमा समेत किरा फैलने भएकाले झरेका फललाई व्यवस्थापन गर्न ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाको सुझाव छ । उनका अनुसार, म्याग्दीमा यस वर्ष सुन्तलाको फल ठूला लागे पनि किराको प्रकोपले करिब ३० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ ।

जिल्लामा २ सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको ज्ञान केन्द्रको तथ्यांक छ । गत वर्ष १ हजार १ सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

ताजा समाचार