जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु,९ जना घाइते

महेन्द्रनगर । धनुषामा जन्ती बोकेको विंगर र तरकारी बोकेको गाडी ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजार चोकमा शनिबार बिहान ५ बजे भएको दुर्घटनामा बा १ ज ८३९६ नम्बरको विंगरमा सवार ५ जनाको मृत्यु ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट गएको जन्ती इटहरीबाट फर्किँदै गर्दा दुर्घटनामा परेको हो। दुइटै गाडी तीब्र गतिमा भएकाले अनियन्त्रित भइ ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताए।

प्रहरी निरीक्षकका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी २९ वर्षीया रूवी साह, महोत्तरी पिपरा गाउँपालिका-२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी-बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुर छन्।

एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनालाई प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकले मृत घोषणा गरेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार