महेन्द्रनगर। महाकाली नदीमा निर्माणाधीन पहुँच मार्गको काम अन्तिम चरणमा पुगेको छ। पुलको काम सकिएको छ। पहुँच मार्गको काम यही महिनाभित्रै सम्पन्न हुने भएको हो।
महाकालीपारिको दोधारा चाँदनी क्षेत्रलाई सडक सञ्जालसँगै जोड्न र उक्त क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्ने उद्देश्यका साथ ५ वर्षअघि चार लेनको पक्की पुल निर्माणको काम सुरु भएको थियो।
कोरोना संक्रमण र बर्खायाममा बाढीका कारण काम हुन नसक्दा ढिलाइ भएको थियो। ‘पुलको दुवैतर्फ निर्माण हुने पोखरीको काम पनि सुरु भएको छ,’ पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएपीसी जेभीका इन्जिनियर किशोर पाण्डेले भने, ‘पुलको काम सकिएको छ, पहुँच मार्गको काम पनि यो महिनाभित्रै सकिन्छ।’
उनका अनुसार अहिले पहुँच मार्ग कालोपत्रेको काम चलिरहेको छ। ८ सय मिटर लम्बाइको पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ को मलेरिया नालासम्म ८ दशमलव ६ किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ।
उक्त क्षेत्रमा महाकाली नदीको चौडाइ २ किलोमिटर छ। नदीको बीचमा पुल बनेपछि दुवैतर्फ ६र६ सय मिटर चौडाइ र २६÷२६ सय मिटर लम्बाइका पोखरी निर्माण हुनेछन। पोखरीको डिजाइनकै कारण ढिलाइ भएको हो।
अहिले डिजाइन परिवर्तन गरेर काम सुरु भएको इन्जिनियर पाण्डेयले बताए। विगतमा ठूलो ढुंगाको प्रयोग गरेर पोखरीको तटबन्ध बनाउनुपर्ने थियो। अहिले डिजाइन परिवर्तन भएर ढुंगा र कंक्रिटबाट तटबन्ध बनाउनुपर्ने पाण्डेयले बताए।
उनका अनुसार डिजाइन परिवर्तन भएसँगै लागत पनि बढेर आउनेछ। ०७४ मा पुल निर्माणका लागि ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो। कोरोना संक्रमण तथा पोखरीको तटबन्धका लागि ठूलो ढुंगा नपाएर ढिलाइ हुँदा ठेक्का रकम बढाएर ३ अर्ब ६६ करोड पु(याइएको थियो।
अहिले डिजाइन परिवर्तनपछि ठेक्का रकम पुन बढ्ने छ। पुल निर्माणका लागि सुरुमा ३ वर्षको समयावधि तोकिएको थियो। कोरोना संक्रमण तथा निर्माण सामग्रीको अभाव देखाउँदै पहिलो पटक १८ महिना र दोस्रो पटक ९ महिना गरी ०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो।
डिजाइन परिवर्तनपछि तेस्रो पटक १८ महिना म्याद थपेर २०८० चैत १५ सम्मको समय तोकिएको छ। गत कात्तिकमा आएको भीषण बाढीले पहुँच मार्गसँगै पोखरीको बीचको टापुसमेत बगाएको थियो।
पुल र पहुँच मार्ग अन्तिम चरणमा पुगेसँगै दोधारा चाँदनी पनि सडक सञ्जालमा जोडिएको छ। गत वर्षदेखि पुलमा सवारी साधन चल्न थालेका छन्। सवारी आवागमनले दोधारा चाँदनीका बासिन्दालाई सहज भएको छ।