कञ्चनपुरको समग्र विकासका लागि सांसद लेखकद्धारा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसंग छलफल

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य,पूर्वमन्त्री एवम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश लेखकले जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखसित भेटघाट एवम् छलफल गरेका छन् ।

विजयी भए पश्चात सोमबार सांसद लेखक,नवनिर्वाचित प्रदेश सभा सदस्य बेल बहादुर राना,मधु भारतीले जिल्लाको समग्र विकासका लागि जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखसंग छलफल गरेका हुन् ।

विशेषगरि निर्वाचन क्षेत्र नं. ३ मा रहेका विभिन्न समस्या र ती समस्याको समाधानका विषयमा कार्यालयका प्रमुख एवम् नगर प्रमुख,उपप्रमुख,समन्वय प्रमुख र उपप्रमुखसंग छलफल गरिएको हो ।

जिल्लामा बाढी नियन्त्रण, बन्यजन्तु, खानेपानी, सिचाई, गौ नंदी (छाडा चौपाया) का समस्या समाधान गर्ने विषयमा छलफल गरिएको छ ।

यस्तै विभिन्न कृषि अनुदानलाई व्यवस्थित गर्ने,शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमानामा वाल निर्माण गर्ने, महाकाली करिडोरको काम अगाडी बढाउने लगाएतका विषयमापनि सम्बन्धित कार्यालय प्रमुखसंग छलफल गरिएको हो ।

यस्तै सांसद लेखकले जिल्लामा रहेका विभिन्न समस्या समाधानका लागि सबैले आ–आफ्नो ठाउँबाट एक अर्कालाई सहयोग र एकअर्कासंग समन्वय गर्नुपर्ने बताए ।

निर्वाचित भएयता सांसद लेखक निरन्तर जिल्लाका विभिन्न समस्या समाधानका निम्ति सम्बन्धित कार्यालयका प्रमुखसंग भेटघाट,छलफल एवम् अनुगमन गरिरहेका छन् ।

केही दिन अघिमात्र महाकाली प्रादेशिक अस्पतालको अनुगमन गरि,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् निमित्त मेडिकल सुपरिन्टेन्डेट लगाएतसंग अस्पतालको थप स्तरोन्नतीका विषयमा छलफल गरेका थिए ।

ताजा समाचार