धनगढीमा आजदेखि महोत्सव सुरु

महेन्द्रनगर। आज देखि धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु हुँने भएको छ । धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा महोत्सव सञ्चालन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।

२०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सब यो १६ औं संस्करणको हो ।

आयोजक कैलाली उद्योग बाणिज्य संघले महोत्सवको पुर्व सन्ध्यामा आज बिहान धनगढी चौराह देखी महोत्सबस्थल धनगढी १, पशुपतिटोलसम्म बाजागाजा सहित प्रभात फेरीको आयोजना गरेको हो । महोत्सवको एक विशेष समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका तय गरीएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक र भौतिक विकासका प्रमुख आधारहरुलाई सरकारसामु माग रुपमा प्रस्तुत गर्दै आएको संघले यस पटक धनगढीमा प्रदर्शनीस्थल निर्माणलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी समेत गरेको छ।

पहिलो महोत्सवदेखि नै संघले धनगढी अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल, गेटा मेडिकल कलेज, पश्चिम सेती जलविद्युत आयोजना, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, गौरिफन्टा सीमानाको स्तरोन्नती, धनगढी–दीपायल–बझाङ द्रुतमार्ग, सुख्खा बन्दरगाह, प्राविधिक कलेज, प्रदर्शनीस्थल, सितगृह, लगायतका प्रमुख माग प्रस्तुत गर्दै आएको छ।

महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कलासंस्कृति, खानपान, भाषाको संरक्षणसहित व्यवसायिक रुपमा सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुने विश्वास लिएको छ।

संघका अध्यक्षले समृद्ध सुदूरपश्चिम प्रदेश बनाउने अभियान अन्तर्गत महोत्सवको १६ औं संस्करणमा आइपुगेको चर्चा गर्दै सुदूरपश्चिमकै एक प्रमुख पर्वका रुपमा स्थापित भइसकेको महोत्सवलाई बनाउन सबैको सहयोगका लागि आग्रह गरे । संघका अनुसार यस पटक महोत्सवमा चार सय बढि स्टलहरू रहने छन्।

महोत्सवमा कृषि उपजका ११, होटलका २६, अटोमोवाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक गरी चार सय बढि स्टल रहने छन् । विगतका वर्षहरूमा बढिमा तीन सयसम्म स्टल रहने गरेकोमा यस वर्ष चार सय बढि नाघेको बताए।

ताजा समाचार