शिक्षक विष्टको हत्यामा संलग्न बोहरा दम्पती पक्राउ

महेन्द्रनगर। बैतडीको पाटनमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको हो।

बिमला कृष्ण माविमा कम्प्युटर डिप्लो तहमा अध्ययनरत छिन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्यले बताए ।

कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो । शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए ।

छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसंगै बसेर पढ्दै आएकी खुलेको छ ।

घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही बिषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए।

ताजा समाचार