कञ्चनपुरमा ठूलो मात्रामा अवैध काठ बरामद, ८ जना पक्राउ

महेन्द्रनगर । जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा अवैध काठ बरामद गरिएको छ।

आइतबार दिउँसो लालझाडी गाउँपालिका–४ देखतभुली र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध काठसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुर र लालझाडी सव–डिभिजन वन कार्यालयलगायतको टोलीले देखतभुली बस्ने मौले राना, सुबिता राना, काली राना, मोति राना, भंगी राना, विक्रम राना र कृष्णपुर नगरपालिका–४ बस्ने हरि चौधरीको घर आगनमा लुकाइछिपाई राखिएको काठ बरामद गरेको हो।

प्रहरीका अनुसार २४५ दशमलव ७५५५ क्यूफिट अबैध सालको चिरान काठ र गोलिया बरामद गरी सातै जनालाई आवश्यक कारवाहीको लागि वाणी सव डिभिजन वन कार्यालयमा बुझाइएको छ।

यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरका ३८ वर्षीय सागर बिष्ट पनि अवैध काठसहित पक्राउ परेका छन्। उनले चलाएको म. १ त. ६९८ नं. को ट्याक्टरमा ५ थान (३५.५ क्यू्फिट) सिसमको गोलिया भेटिएको छ।

ट्याक्टर, काठ, आरा र चालक बिष्टलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीको भनाई छ।

ताजा समाचार