प्रशासनिक सेवालाई डिजिटल बनाउँदा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

कञ्चनपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सार्वजनिक खरिद ऐनलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिइन् ।

‘प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा र सार्वजनिक खरिदलाई प्रभावकारी बनाउँदा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने मैले विश्वास लिएको छु’, राष्ट्रपतिले भनिन्, ‘राजनीतिक नेतृत्व, आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन सक्छ । ’

भ्रष्टाचारले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउने उल्लेख गर्दै राष्ट्रपतिले यसलाई नियन्त्रण गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइन् ।

उनले तिनै तहका सरकार र नागरिकको सहकार्यमा भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हुन सक्ने विश्वास पनि व्यक्त गरिन् ।

ताजा समाचार