महेन्द्रनगर ।कैलालीमा वन्यजन्तुका छाला र हड्डीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
आईतबार धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले कुइने देखि चिसापानीतर्फ आउँदै गरेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो।
अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुल बहादुर बिकले चलाएको से.५ प ८०३१ नं.को मोटरसाइकल पछाडि सवार जुम्ला तातोपानी गाउँपालिका–४ राउतवाडाका ५० वर्षीय तुल बहादुर खत्रीको साथमा रहेको झोला जाँच गर्दा चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ।
७ फिट १० इन्च लम्बाई र ४ फिट ७ इन्च चौडाइ भएको चितुवाको एक थान छाला र बन्यजन्तुका २ किलो ९५० ग्राम हड्डी बरामद गरिएको छ।
दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
