महेन्द्रनगर । बेदकोट नगरपालिका कार्यालयमा हुलिएपछि चौधर नदी पुलमा राखिएका छाडा पशु चौपाया बैतोडा सारिएका छन् । बैतोडास्थित बालज्योति माध्यमिक विद्यालयका ५ बिगाहा जग्गामा बनाएको छाडा पशु चौपाया व्यवस्थापन स्थलमा बिहीबार सबै गाई गोरु सारिएका छन् ।
झण्डै तीन महिना अघि कार्यालय नजिक चौधर पुलको खाली स्थानमा अस्थायी रुपमा राखिएका सात सय बढी गाई गोरुलाई नगरपालिकाले त्यस बैतोडामा विद्यालयसित सम्झौता गरी चौपाया व्यवस्थापन गरेको छ ।
बैतोडामा छाडा पशु चौपायाका लागि पाँच बिगाहा जग्गामा तारबार गरिएको छ । तारबारभित्र चौपायका लागि टहरा बनाउने कार्य थालिएको छ । टहराका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर संकलन गरी राखिएको छ ।
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले छाडा पशु चौपायको दिर्घकालिन व्यवस्थापनको लक्ष्य राखेर बैतोडामा राखिएको बताए । ‘छाडा पशु चौपायाको समस्या दैनिक रुपमा बढ्दो छ, त्यस कारण दिर्घकालिन व्यवस्थापन हुने गरी बैतोडामा व्यवस्थापन अघि बढाएका छौ ।’
स्थानीय तह निर्वाचनपछि मेयर बोहराले उप मेयर तुलसी जोशीको नेतृत्वमा कार्यदल गठन गरी चौपाया व्यवस्थापन अघि बढाएका हुन् । उप मेयर नेतृत्वको कार्यदलले बैतोडामा व्यवस्थापन कार्य अघि बढाएपछि स्थानीयले चौपायालाई कार्यालयभित्र हुलि दिएका थिए ।
बैतोडामा चौपाया व्यवस्थापनको सबै जिम्मेवारी वडा नं. ४ लाई दिइएको छ । बिहीबार मेयर बोहरा, उप मेयर जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहित जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी सबै चौपायालाई बैतोडा लैजाने कार्यमा सहभागी भएका छन् ।
बेदकोटमा अहिले सबै वडामा पशु चौपायाको लगत संकलन कार्य अघि बढेको छ । केही वडाले पशु चौपायाको खरिद, बिक्री र मृत्युबारे वडा कार्यालयमा जानकारी गराउनु पर्ने नियम लागू गरेका छन् । बेदकोट नगरपालिका ५ र वडा नं. ४ मा यो नियम लागू गरिएको छ ।
बेदकोट नगरपालिकाले चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग पाएको छ । नगरपालिकाले प्रदेश सरकारबाट चौपायाका लागि चोकर र ब्रान सहयोग पाएको छ । बैतोडामा ५० क्विन्टल चोकर र ब्रान राखिएको छ । चौपायाका लागि नगरपालिकाले ३ सय ट्राली पराल किनेर राखेको छ ।