महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले अनाथ बालवालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बुधवार नेपाल विद्यार्थी संघको ५४ औँ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ कञ्चनपुरले महेन्द्रनगरस्थित महाकाली अञ्चल वाल अनाथालयका बालवालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको नेपाल विद्यार्थी संघ कञ्चनपुरका सभापती रमेश चटौतले बताए ।
उनकानुसार अनाथालयका बालवालिकाहरु लाई चामल,दाल,नुन,तेल लगाएतको खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरिएको हो । यस्तै स्थापना दिवसकै अवसरमा नेपाल विद्यार्थी संघ कञ्चनपुरका नेताहरुले रक्त्तदान समेत गरेका छन् ।
जिल्लास्थित विभिन्न क्याम्पसका २२ जना विद्यार्थी तथा नेविसंघ नेताहरुले रेडक्रस सोसाइटीमा रक्तदान गरेको नेविसंघ कञ्चनपुरका नेता संजय अधिकारीले बताए ।
नेपाल विद्यार्थी संघले स्थापना दिवसको अवसरमा गरेको समाजिक कार्य सरहाननिय रहेको नेपाली काँग्रेस कञ्चनपुरका सभापती एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले बताए ।
‘पछिल्लो समय प्राय संस्थाको स्थापना दिवस, जम्मदिन तथा अन्य कार्यक्रमहरु होटेल तथा कुनै सार्वजनिक स्थलमा स्टेज बनाएर भाषण गरेर मनाउने परम्परा रहेको छ ।’ पार्टी सभापती बोगटीले भने ‘नेविसंघ कञ्चनपुरले नेविसंघको स्थापना दिवसको अवसरमा त्यस्ता फजुल खर्च हुने कार्यक्रम नगरी अनाथ बालवालिकालाई खाद्यान्न, शैक्षिक सामाग्री वितरण र रक्तदान गरेरको कार्य सरहाननिय छ ।’
उक्त कार्यक्रममा कांग्रेस कञ्चनपुरका पार्टी सभापति बोगटी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवम् भीमदत्त नगरपालिका उपप्रमुख निलम जोशी लेखक पार्टी सचिव भीम भट्ट, नेपाली काँग्रेसका नेता तथा जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।