परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छः नगरप्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । नगरपालिकाले एनएनएसडब्लुएको सहयोगमा महेन्द्रनगरस्थित भीम वाटिकामा वृक्षरोपण गरेको छ ।

वृक्षरोपण पश्चात एनएनएसडब्लुए, निड्स नेपाल, ओरेक नेपाल लगाएतको सहयोगमा प्लाष्टिकजन्य प्रदुषण न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । सो अन्तरक्रिया कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले परिवर्तनको शुरुवात आफैँबाटै गर्नुपर्ने बताए ।

‘हामी आफ्नो घर, आगन सफा गरेर निस्केको फोहोर घर अगाडी, पछाडीको,सडक, ढलमा फाल्छौँ ।’ उनले भने ‘त्यसैले परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ, सबैले फोहोरलाई निश्चित ठाउँमा जम्मागर्ने, जथाभावी फोहोर नफाल्ने, कुहिने, नकुहिने फोहोर छुट्टाएर राख्ने हो भने गाउँ, घर, समुदाय, नगर, देशको वातावरण आफैँ स्वच्छ, राम्रो हुन्छ ।’

यस्तै उनले प्लाष्टिकजन्य फोहोर न्यूनिकरणका लागी उद्योग वाणिज्य संघ तथा उद्योगी, व्यवसायीहरुको समेत सहयोग आवश्यक रहेको बताए । नगर उपप्रमुख नीलम लेखक जोशी लगाएतका अन्य वक्ताहरुले वातावरण प्रदुषण न्यूनिकरणका लागी वृक्षरोपण, सरसफाई, जनचेतनामुलक लगाएतका कार्यक्रमलाई दिवस तथा केही कार्यक्रममा मात्र सिमित नरहेर निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा विभिन्न सरकारी गैरसरकारी संघसंस्थामा प्रमुख एवम् प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार