कञ्चनपुर । उमेरले ६८ वर्ष बुढेसकालले छोए पनि काम गर्ने जोस र जाँगर भने युवाअस्थाको जस्तै छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं १० शिवनगरका ६८ वर्षीय हिरा चौहानले ठेला गुडाउदै चाट,पानीपुरी बेचेर वार्षिक पाँच लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।
उनलाई काम गर्न उमेरले छेकेन । बुढेसकालले छोए पनि उनको जोश र जाँगर निकै छ । उनी आफ्नो काम पेसालाई निकै मन लगाएर गर्दै आएका छन् । ठेला चलाएर व्यापार गर्नका साथ साथै कृषि क्षेत्रमा पनि उखु खेती गरेर निकै राम्रो आम्दानी हुने गरेको चौहानले बताएका छन् ।
सधैँ बिहानै उठ्ने चौहान परिवारसँग मिलेर घरको काम गर्छन् र त्यसपछि पसलका सामग्री तयार पारी ठेला गुडाउदै १ किलो मिटर पर रहेको चिनिमिल उद्योगको गेट बाहिर ठेला उभ्याएर चाट,पानीपुरी, अण्डा, बिरेट जस्ता खाने परिकारहरू पकाउँदै बेचेर साँझ पख घर फर्किन्छन्, र दैनिक आम्दानीको हिसाब किताब गर्छन् । दैनिक रु. २/३ हजार व्यापार हुने गरेको चौहानले बताएका छन् ।
विगत ५३ वर्ष देखि सानो उमेरमा नै व्यापारी क्षेत्रमा होमिएका उनले अहिले सम्म पनि व्यापारी पेसालाई भने त्यागेका छैनन् । चौहानले भन्छन्,”यो व्यापार पेसा मेरो बाध्यता होइन रहर हो मलाई कुनै कुराको पनि अभाव छैन । म र मेरो परिवारलाई खान लाउन नपुगेर ठेला चलाएर चाट, पानीपुरी बेचेको होइन, व्यापार मेरो पुख्र्यौली पेशा हो ।”
उनले भने,”यतिका वर्ष सम्म मलाई आत्मनिर्भर बनाउने भनेकै यही व्यापार व्यवसायले नै हो । शरीरमा जोस जागर हुँदा सम्म आत्मनिर्भर भएर मिहिनेत गरेर खाने आँट लिएको छु, पेशाको माया लाग्छ, छोड्न मन लाग्दैन ।”
उनका अनुसार,”घरमा किराना पसल छ, मैले गाई, बाख्रा, भैँसी,पालेको छु । ताजा दूध, दही खान्छु त्यसैले पनि आफूले कमजोर महसुस नगरेकोे हो । घरको काममा आफूलाई श्रीमतीले पनि सघाउने गरेकी छिन् । आफ्नै काम र पेशामा रमाउँदा आफूलाई बुढेसकालले छोएको अनुभवसमेत मैले गर्न पाउँदिन ।” उहाँको यो मिहिनेत देखेर मिहेनती व्यक्तिका रुपमा गाउँ समाजका सबै व्यक्तिले प्रशंसा गर्ने गरेका छन् ।