आरक्ष पीडित र भूमिहीनका समस्या यसैपटक समाधान हुन्छन्ः मन्त्री साउद

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले आरक्ष पीडित र भूमिहीन सुकुम्वासीका समस्या छिट्टै समाधन गर्ने गरी काम गरिरहेको बताएका छन् ।

विहीबार नेपाली कांग्रेस कृष्णपुर नगर समितिको नगर सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री साउदले त्यो कुरा बताएका हुन् । ‘यो क्षेत्रका आरक्ष पीडित र भूमिहीनका समस्या समाधानका लागि गम्भीर भएर काम गरिरहेको छु,’ उनले भने, ‘राज्यले विभिन्न समयमा आरक्ष पीडित र भूमिहीनका समस्या समाधानका लागि हालसम्म ३१ ओटा आयोग गठन भए र अरवौं रकम खर्च भयो तर समस्या जस्ताको त्यस्तै भएकाले अब ३२ औं पटक आयोग गठन नगर्ने गरी प्रधानमन्त्रीसँग गम्भीरताका साथ कुरा र छलफल गरेको छु ।’

उनले अगाडि भने ‘त्यस्तै भूमिसुधार मन्त्री र वन मन्त्रीसँग समेत पटक–पटक छलफल गरेको छु ।’ यस्तै कार्यक्रममा उनले सम्पूर्ण नेता कार्यकर्ताले इमान्दार भएपछि नेपाली कांग्रेससँग एक्लै चुनाव लड्ने हिम्मत कसैले नगर्ने समेत बताए । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई परराष्ट्रमन्त्री साउदले कुनै कन्जुस्याइँ नगरेर काम गर्न निर्देशन दिएका छन् ।

‘तपाईँ निर्वाचित जनप्रतिनिधिलाई पार्टीले इमान्दार सिपाही ठानेर टिकट दिएको र जनताले क्षमता देखेर जिताएकाले काम गर्न कन्जुस्याइँ नगर्नुहोला,’ उनले भने ।

ताजा समाचार