महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा गौरा पर्व मनाउनका लागि प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ ।
देवीदेवताको पूजाआजा गरी मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ ।नेपाल सरकारले भदौ ७ गते र सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
गौरा पर्वका बिषयमा ज्योतिषहरुबीच मतभेद भने कायमै रहेको छ । कतिपय ज्योतिषहरुले यो बर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन् । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको भनाइ रहेको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्वको तिथी उल्लेख गरिएको छ । सोही अनुसार नेपाल सरकार र प्रदेश सरकारले बिदा दिएको हो ।
यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो. दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन आग्रह गरेका छन्। ‘शास्त्रीय मान्यताअनुसार यो पर्व अगस्त्योदय पश्चात् र असोज अर्थात् कन्यार्कम गर्नु हुँदैन भन्ने सर्वविदितै छ,’ उनले भनेका छन्।
सरकारले भदौ ७ र ८ गते गौराको बिदा दिएपनि यो बर्ष ज्योतिषहरूनै आपसमा विभाजित भएपछि कूनै ठाउँमा कसैले भदौ ७ गते र कसैले भदौ २१ गते दुई दिन गौरा हुने सम्भावना भएको स्थानीयहरुले बताएका छन् ।
सो पर्व सुदूरपश्चिम प्रदेशका डडेलधुरा,डोटी, दार्चुला,बैतडी तथा पछिल्लो समय तराईका कैलाली, कञ्चनपुर लगायतका विभिन्न ठाउँमा मनाइने गरिएको छ । गौरा पर्वमा गौरामा डेउडा खेल्ने र गौरामा देवीको प्रसादको रुपमा विरुडा ग्रहण गर्ने ,ब्रतालु महिलाहरुले आफ्ना आफन्तजनहरुको बिरुडाले टाउको पुज्ने चलन पनि छ ।
तत्कालीन राज्यमन्त्री स्व. प्रेमसिंह धामीको पहलमा २०५२ सालदेखि गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशमा बिदा दिन थालिएको थियो ।