कञ्चनपुर । कञ्चनपुरका किसानले लगाएका धान खेतीमा सिथ ब्लाइट (गवारो)रोगको प्रकोप देखिएको छ ।
समयमा नै वर्षा नभएकाले ढिलो गरी कष्टका साथ रोपाइँ गरेर हुर्कदै गरेका धानका विरुवाको पात पहेंलो हुनुका साथै धानका गुभो सिथ ब्लाइटको प्रकोपले मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं १ बस्ने कमला धामीले आफ्नो धन खेतीमा गवारो कीराको प्रकोपले धानका बोटबिरुवाहरु नष्ट भएको बताएकी छन् । गवारो कीराले धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्ता पिरोलिरहेको बताइन् ।
यस वर्ष अन्य वर्षभन्दा मनसुन ढिलो गरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परेको थियो । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एक महिनाअघि आएको अत्यधिक पानीले अहिले एकाएक रोगको प्रकोप देखिन थालेपछि गवारो कीराले धानको गूभो काटेर क्षति गर्ने गरेको उक्त जिल्लाको भीमदत्त नगरपालिका–१८ का किसान भागरती थापाले बताइन् । “धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ ।”,
उनले भनिन्, “धानबालीमा अहिले गवारो रोगको प्रकोप बढ्दै जाँदा धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन घट्ने हुँदा आफूहरुमा चिन्ता बढेको बताइन् ।” समयमै रोग निर्मूल पार्न नसके बाली सखाप हुने र किसान भोकभोकै हुनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
किसानको बारीमा अहिलेको धानमा शित व्लाइट रोग धानको पहिलो गवारो तथा सेतो गवारो, खैरो फट्के किरा, युरिया र पोटासको कमीका कारणले विभिन्न किसिमका गवारो किराले धानमा आक्रमण गरेर धानको गुभो पहेँलो भएर धानमा दाना नलाग्ने समस्या देखिएको कञ्चनपुरको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका आशिष पाठकका अनुसार,”अहिले ज्ञान केन्द्रमा दैनिक किसान समस्या लिएर आउने गरेका छन् । धेरैजस्तो स्थानमा पोटास मलको कमीका कारणले शिथ ब्लाइट रोग देखा परेको हो। जिल्लाका सबै पालिकामा यो समस्या देखा परेको छ । ”
रोगकीरा निदानका लागि गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि किसानलाई धानका बिरुवा डुब्ने गरी पानी लगाउने,रासायनिक विषादीकोऔषधि छर्किन कृषि ज्ञान केन्द्र कञ्चनपुरले सल्लाह दिएका छन् ।