महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका नगरप्रमुख पदम बोगटीले पर्यटकहरुलाई ढाका टोपी र मालाले स्वागत गरेका छन् ।
बुधबार ४४ औं विश्व पर्यटन दिवसको अवसरमा गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई भिमदत्त नगरपालिका र होटेल व्यवसायी संघ कञ्चनपुरले नाकामा फूल माला र ढाका टोपी लगाइदिएर पर्यटकहरुलाई स्वागत गरेका हुन् ।
पर्यटकहरुलाई स्वागत गर्दै नगरप्रमुख बोगटीले पर्यटन विकासले नै देश नगरको विकासमा टेवा पुग्ने भन्दै भिमदत्त नगरपालिकाले पर्यटन प्रवद्धनका लागि विभिन्न कार्यक्रम एवम् कार्य गरिरहेको बताए । ‘यहाँको पर्यटन विकासका लागि भिमदत्त नगरपालिका पछि हट्दैन’, उनले भने । होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेको बताए ।
‘यो नाका पर्यटक आउने प्रमुख नाका हो’, उनले भने, ‘यहाँबाट आउने पर्यटकलाई यहाँका पर्यटकीय स्थलहरुमा घुम्ने वातावरण बनाउनु पर्छ ।’ अध्यागमन कार्यालय कञ्चनपुरका सुचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट नपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकहरुको संख्या बढेको बताए ।
अध्यागमन कार्यालयको तथ्याङ्क अनुसार २०२२ मा पाँ सय ४२ जना पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म ६ सय ८५ जना पर्यटक भित्रिएका छन्। सप्टेम्बरमा मात्रै एक सय ५४ जना पर्यटक नेपाल भित्रिएका छन् ।