पार्किङ व्यवस्थापनमा लाग्यो भीमदत्त नगरपालिका

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका अव्यवस्थित सवारी पार्किङ व्यवस्थापनमा लागेको छ । भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रका सडक तथा ढल निर्माण कार्य अन्तिम चरणमा पुगेपछि नगरपालिका सवारी पार्किङ व्यवस्थापनमा जुटेको हो ।

महेन्द्रनगर बजारका पाँच वटै गल्ली, मदन चोक–दशरथ चन्द चोक रोड, अस्पताल रोड लगाएतको अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले गल्ली पछाडी सवारी पार्किङ गर्न अनुरोध गरेको छ । विहिवार भीमदत्त नगरपालिकाले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयको सहयोगमा सडक तथा साईकल लेनमा अव्यवस्थित रुपमा गरिएका सवारी पार्किङ गल्ली पछाडी निर्माण गरिएको सवारी पार्किङ स्थलमा पार्किङ गर्न अनुरोध गरेको छ ।

नगर प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी उपरिक्षक चक्रराज जोशी, भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशिल भट्ट, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी निरिक्षक नरेश विक, नगर प्रहरी लगाएतको उपस्थितिमा सडक तथा साइकल लेनमा अव्यवस्थित रुपमा गरिएका सवारी पार्किङ गल्ली पछाडी व्यवस्थित रुपमा राख्न सवारीधनीहरुलाई अनुरोध एवम् सम्झाई बुझाई गरिएको र ट्राफिक संकेत बोर्ड राखिएको छ ।

बजार क्षेत्रमा अव्यवस्थित सवारी पार्किङले दुर्घटना जोखिम र बजारको सुन्दरतामा असर गर्ने भएकोले सवारी पार्किङ व्यवस्थापनको कार्य भइरहेको नगरप्रमुख पदम बोगटीले बताए । ‘अहिले यो बजार क्षेत्रका सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण भएको सडकको साईकल लेनमा अव्यवस्थित रुपमा सवारी पार्किङ गरिरहेको अवस्था छ ।’ उनले भने ‘जसका कारण सवारी दुर्घटना र बजारको सुन्दरतामा समेत कमी आउने भएकोले अगाडी गल्लीमा रहेका सवारी साधानलाई गल्ली पछाडी निर्माण गरिएको पार्किङ स्थलमा सवारी पार्किङ गर्न आजबाट सवारीधनी आम नगरवासीलाई अनुरोध, सम्झाई बुझाई गरिएको छ र साथै ट्राफिक संकेत बोर्डहरु राख्ने कार्य भएको छ ।’

उनले अगाडी भने ‘साँत दिनसम्म यसै गरी हाम्रो नगरप्रहरी, ट्राफिक प्रहरीहरुले सडक, साइकल लेन तथा सवारी पार्किङ निषेधित क्षेत्रमा सवारी पार्किङ नगर्न, गल्ली पछाडी निर्माण गरिएको पार्किङ स्थलमा व्यवस्थित रुपमा पार्किङ गर्न अनुरोध, सम्झाई, बुझाई गर्नेछन् यदि त्यसपछि समेत निशेधित क्षेत्रमा पार्किङ गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने छ ।’

भीमदत्त नगरपालिकाका उपप्रमुख जोशीले महेन्द्रनगर बजारमा जथाभावी पार्किङले समस्या भएको र दुर्घटना पनि हुने सम्भावना भएकाले गल्लीको पछाडी पार्किङको व्यवस्था गरिएको बताइन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विकले बजार क्षेत्रमा भएको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउनका लागी आज बाट नै योजना बनाएर सबैलाई जनचेतना दिएर व्यवस्थित बनाउने उदेश्यका साथमा काम भइरहेको बताए ।

ताजा समाचार