महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बङ्गलादेश जान लागेका कबड्डी खेलाडीहरुलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको छ ।
बङ्गलादेशको ढाकामा जेठ १३ गते देखी २१ गते सम्म सञ्चालन हुने बङ्गबन्धु अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा सहभागी हुने नेपाली टिमका खेलाडीहरुलाई नगरपालिकाले सम्मान गरेको हो ।
नगरप्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशीले खादा, अविर लगाएर सम्मान तथा विजयका लागि शुभकामना व्यक्त गरेका छन् । खेलाडीहरुलाई शुभकामना दिदैँ नगर प्रमुख बोगटीले नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
उक्त कबड्डी टिमको छनौट तथा प्रशिक्षण भीमदत्त नगरपालिका–४ स्थित कबड हलमा सम्पन्न भएको कबड्डीका राष्ट्रिय प्रशिक्षक विष्णुदत्त भट्टले बताए ।
यस्तै बैशाख २९ गते देखी जेठ १ गते सम्म सप्तरीमा सञ्चाल भएको महिला राष्ट्रिय कबड्डी प्रतियोगिता–२०८१ मा तितृय स्थान हासिल गरेको सुदूरपश्चिम प्रदेश टिमका खेलाडीहरुलाई समेत बधाई तथा सम्मान गरिएको छ ।
भीमदत्त नगरपालिकाले कबड्डीको विकासका लागि निरन्तर सहयोग गर्दै आइरहेको भन्दैँ प्रदेश टिमका सबै खेलाडी भीमदत्त नगरपालिकाकै रहेका सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष तथा राष्ट्रिय कबड्डीका टिम व्यवस्थापक महेश चन्दले बताए ।
उक्त कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कबड्डीक प्रशिक्षक, टिम व्यवस्थापक, खेलाडीहरु लगाएतको उपस्थिति रहेको थियो ।