मझगाउँ विमानस्थलको रोकिएको काम सुचारु गर्न मन्त्रीको ध्यानाकर्षण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

विमानस्थल निर्माणमा देखिएका समस्या समाधानका लागि नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक एवम् कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखक नेतृत्वको टोलीले रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापती प्रभुराम शर्माको ध्यानाकर्षण गरेको हो ।

बुधवार प्रमुख सचेतक लेखक, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहोरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहोरा, मन्त्री उप्रेती र प्रधानसेनापती शर्मा विच विमानस्थलको रोकिएको कार्य सुचारु गर्न छलफल भएको प्रमुख सचेतक लेखकका स्वकीय सचिव जनक भट्टले बताए ।

विमानस्थललाई आवश्यक पर्ने जग्गाको स्वामित्व नलिएर २०७८ पुस २८ गते तत्कालिन सरकारका संस्कृती पर्यटन तथा नागरीक उड्डेन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यतामा उक्त विमानस्थल पुन निर्माण कार्यको शिलान्यास गरिएको थियो ।

यद्यपी विमानस्थललाई आवश्यक पर्ने दक्षिण तर्फको जग्गा रत्न बाटिका र नेपाली सेनाको अधिनमा रहेकोले निर्माण कार्यमा अवरोध आएको छ ।

उक्त समस्या समाधानका लागि एवम् विमानस्थललाई आवश्यक पर्ने जग्गा प्राप्तिका लागि प्रमुख सचेतक लेखक नेतृत्वको टोलीले मन्त्री र प्रधानसेनापती संग छलफल तथा ध्यानाकर्षण गरेको हो ।

प्रमुख सचेतक लेखकका स्वकीय सचिव भट्टका अनुसार छलफल सकारात्मक भएको र विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गरी रोकिएको काम सुचारु गर्ने र आवश्यक बजेटका लागि समेत आफु लाग्ने मन्त्रीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

४५ करोड रुपैयामा ठेक्का सम्झौता भएको विमानस्थलको पुनःनिर्माणको कार्य ३६ प्रतिशत सम्पन्न भइसकेको छ । भीमदत्त नगरपालिकाले १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लागतमा उक्त विमानस्थल पुनःनिर्माण कार्य भइरहेको हो ।

ताजा समाचार