खोटाङ–हलेसी महोत्सव भव्य रूपमा सम्पन्न: पाँच विशिष्ट व्यक्तित्व नगदसहित सम्मानित

प्रकाशित मिति:

काठमाडौ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन भएको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा गठित मूल आयोजक समितिको अगुवाइमा यो महोत्सव सञ्चालन गरिएको हो। खेलकुद र साहित्यका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि यो महोत्सव निरन्तर आयोजना गरिँदै आएको छ। जिल्लाका दशवटै स्थानीय तहसँगको सहकार्यमा सम्पन्न यस पटकको महोत्सवका लागि कुल ३० लाख १३ हजार २३२ रुपैयाँ बजेट खर्च भएको आयोजक संस्थाका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो।महोत्सवको समापनका अवसरमा देश विकासका विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई जनही नगद ११ हजार १११ रुपैयाँ, दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको छ। प्रतिष्ठानका सचिव मिलन कसजूका अनुसार यसरी सम्मानित हुनेहरूमा साहित्य क्षेत्रबाट तेह्रथुमका रविमान लम्जेल, शिक्षा तथा समाज सेवाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुद क्षेत्रबाट बुइपा–११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे तथा पत्रकारिता क्षेत्रबाट दिक्तेलकी पत्रकार सविना अछामे परियार रहनुभएको छ। यस बृहत् महोत्सवले अवसर नपाएर ओझेलमा परेका स्थानीय प्रतिभाहरूको पहिचान गर्नुका साथै दिक्तेल बजारको व्यापार–व्यवसायमा समेत उल्लेख्य वृद्धि गरेको व्यवसायीहरूले बताएका छन्।

महोत्सव अवधिभर विभिन्न खेलकुद तथा साहित्यिक कार्यक्रमहरू उत्साहजनक रूपमा सम्पन्न भए। जेठ ३ गते आयोजित खुला दौड प्रतियोगितामा विभिन्न उमेर समूहका ७५५ जना धावकहरूले सहभागिता जनाएका थिए, जसअन्तर्गत १५ वर्षभन्दा माथिको १० किलोमिटर दौडतर्फ महिलामा खोटाङकी दीर्पा बस्नेत र पुरुषमा ताप्लेजुङका अमिर लिम्बूले प्रथम स्थान हासिल गर्दै जनही १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै, जेठ ६ गते देशभरका ५१ खेलाडी सहभागी भएको खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका प्रकाशचन्द्र नेपालले भारतको सिक्किमका राहुल गुरुङलाई हराउँदै २५ हजार नगदसहित उपाधि जिते। महोत्सवको अन्तिम दिन शनिबार आयोजित विशेष साहित्यिक कार्यक्रममा कवि मनु मञ्जिल, कमल सङ्घर्ष, बबिता भुजेल, कविता राई, रजत किराती, इन्द्र नाराथुङ्गे र कोपिता राईलगायत देशभरका करिब ४० जना साहित्यकारहरूले आफ्ना रचना वाचन गरेका थिए।आयोजक संस्थाका अध्यक्ष सञ्जयकुमार राईका अनुसार छ दिनसम्म सञ्चालन भएको यो बृहत् महोत्सवले जिल्लाको पर्यटनमा ठूलो टेवा पुर्‍याएको छ। खेलकुद र साहित्यको माध्यमबाट पर्यटकीय जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअनुरूप खेलकुदलाई जिल्लाकै गौरवको आयोजना बनाएर सन् २०५० भित्र खोटाङकै खेलाडीले ओलम्पिक पदक जित्ने लक्ष्य समेत राखिएको उहाँले उल्लेख गर्नुभयो।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार