काठमाडौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार रहेका एक जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ स्थायी घर भएका ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार सिंह विरुद्ध जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । अदालतबाट पुर्जी जारी भएदेखि नै उनी फरार रहँदै आएका थिए ।
“जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका निज सिंहलाई हाम्रो विशेष टोलीले काठमाडौँ महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरेको हो,” प्रवक्ता कार्कीले जानकारी दिनुभयो । अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका सिंहलाई थप कानुनी अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि आजै प्रहरी वृत्त जनसेवा, काठमाडौँ पठाएको जनाएको छ ।



