काठमाडौ । बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको झडपको घटनालाई लिएर स्थानीय हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ । यसअघि जेठ ८ गते भएको सहमति कार्यान्वयनमा सरोकारवाला पक्षले उदासीनता देखाएको भन्दै युवा क्लबले आइतबारदेखि कर्णाली करिडोर अन्तर्गतको सडकखण्ड पुनः ठप्प पारेको हो । यही जेठ ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय बाजुराबीच आन्दोलन रोक्ने र माग पूरा गर्ने सहमति भएको थियो । तर, उक्त सहमति कार्यान्वयनको दिशामा कुनै ठोस पहल नभएपछि बाध्य भएर पुनः बन्दको बाटो रोज्नुपरेको युवा क्लबले जनाएको छ । क्लबले घटनाको निष्पक्ष छानबिन र सुरक्षाको प्रत्याभूति सहित मुख्य पाँचबुँदे माग अघि सारेको छ । जसमा घटनास्थलको तत्काल स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का तयार गरिनुपर्ने, घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने र स्थानीय तथा पर्यटकहरूबाट लुटिएका व्यक्तिगत एवं सार्वजनिक सम्पत्तिको पूर्ण क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।
यसैगरी, कुटपिटबाट घाइते भएका स्थानीय बासिन्दाहरूको सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्ने, विस्थापित परिवारलाई तत्काल स-सम्मान पुनःस्थापना गरी सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने क्लबको अडान छ । साथै, च्याचौरमा निर्माणाधीन प्रहरी चौकी भवन भत्काएर नष्ट गरिएका सामग्रीहरूको उचित क्षतिपूर्ति उपलब्ध गराई चौकी निर्माण कार्य तत्काल अघि बढाउन समेत दबाब दिइएको छ । युवा क्लबको आकस्मिक बन्दका कारण कर्णाली करिडोरमा चल्ने लामो तथा छोटो दूरीका यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा हुम्ला, मुगु र बाजुराका रैथाने यात्रुहरूका साथै कैलाश मानसरोवर दर्शनका लागि हिँडेका धार्मिक पर्यटकहरू समेत बीच बाटोमै अलपत्र परेका छन् ।



