काठमाडौ । नेपाल प्रहरीमा वर्षौँसम्म कठोर अनुशासन, जिम्मेवारी र सफल नेतृत्व सम्हालेका पूर्व प्रहरी उपरीक्षक (एसपी) अवधेश विष्ट अहिले भने बिल्कुलै फरक परिचयका साथ चर्चामा छन् । प्रहरीको कडा र कठोर भूमिकाबाट सेवानिवृत्त भएपछि उनले रोजेको नयाँ र सिर्जनात्मक बाटो हो— “कुकर कफी” । ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको उनको “प्रेसर कुकर कफी” पसल अहिले युवा पुस्तामाझ निकै लोकप्रिय बनेको छ । बजारमा भेटिने सामान्य क्याफे वा कफी पसलहरू भन्दा फरक शैली, पुरानो रैथाने स्वाद र सिर्जनात्मक प्रस्तुतिका कारण जावलाखेल पुग्ने धेरैको ध्यान यसले खिचेको छ । प्रेसर कुकरको उच्च बाफ (Steam) बाट तयार गरिने विशेष कफी नै उनको यस व्यवसायको मुख्य आकर्षण हो । आधुनिक र भड्किलो क्याफे संस्कृतिबीच उनले पुरानो घरेलु शैलीलाई नयाँ स्वादमा प्रस्तुत गरेका छन् । यही फरकपन र स्वादका कारण उनको “कुकर कफी” अहिले सामाजिक सञ्जाल (टिकटक, फेसबुक) देखि युवा जमातसम्म निकै चर्चाको विषय बनेको छ । विष्टले प्रहरी सेवामै छँदा निकै सानो लगानी र सानो ठाउँबाट यो व्यवसायको सुरुवात गरेका थिए । सुरुवातका दिनमा समाजबाट उनले थुप्रै प्रश्न र आलोचना पनि खेप्नुपर्यो । धेरैले “एसपी जस्तो मान्छे भएर पनि कफी पसल चलाउने ?” भन्दै प्रश्न उठाएका थिए । तर, विष्टले ती आलोचनालाई आफ्नो कमजोरी होइन, बल्कि अघि बढ्ने प्रेरणाको रूपमा लिए । आज त्यही दृढ सोच र निरन्तरताले उनलाई एक सफल र स्थापित उद्यमीको रूपमा चिनाएको छ ।
“कुनै पनि काम सानो वा ठुलो हुँदैन, मानिसको सोच मात्र सानो र ठुलो हुने हो,” आफ्नो व्यावसायिक यात्राबारे अनुभव साट्दै विष्ट भन्छन्, “जागिर सकिँदैमा जीवन रोकिँदैन, इच्छाशक्ति भए जुनसुकै उमेरमा पनि नयाँ सम्भावना खोज्न सकिन्छ ।”
विशेषगरी स्वरोजगार बन्न चाहने युवाहरूका लागि अवधेश विष्टको यो यात्रा एउटा गतिलो प्रेरणाको स्रोत बनेको छ । सरकारी जागिर वा विदेश पलायन हुनु मात्र सफलताको एकमात्र बाटो होइन, सिर्जनात्मक सोच र कडा मेहनत भए आफ्नै देशमा पनि फरक पहिचान बनाउन सकिन्छ भन्ने दरिलो उदाहरण उनी बनेका छन् ।
अहिले जावलाखेलको “कुकर कफी” केवल कफीको स्वादमा मात्र सीमित छैन, यो त संघर्ष, आत्मविश्वास र नयाँ सोचको एउटा बलियो प्रतीक बनेको छ । प्रहरीको पोशाक उतारेपछि पनि समाजमा फरक ढङ्गले सम्मानित र चर्चित हुन सकिन्छ भन्ने उदाहरणका रूपमा अचेल धेरै युवाहरूले अवधेश विष्टलाई हेर्न थालेका छन् ।



