गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समिति गठन

प्रकाशित मिति:

काठमाडौ । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरी यस वर्षको गणतन्त्र दिवस भव्य रूपमा मनाउने भएको छ। दिवसलाई व्यवस्थित रूपमा मनाउने सन्दर्भमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सोमबार हेटौँडामा बसेको बैठकले विविध कार्यक्रम गर्ने छलफलसहित औपचारिक निर्णय गरेको हो। गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेश सभाका सभामुख, प्रदेशका मन्त्री, उपसभामुख, विपक्षी दलका नेता, प्रदेश सभाका सभापति, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारका सचिवहरू सम्मिलित एक बृहत् प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ। यस समितिको सदस्य सचिवमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहनुभएको छ।

बैठकका अवसरमा मुख्यमन्त्री बानियाँले गणतन्त्रलाई गरिब र उत्पीडितहरूको व्यवस्थाका रूपमा चित्रण गर्नुभयो। सबैलाई समावेशी र समानुपातिक रूपमा प्रतिनिधित्व गराउने व्यवस्था नै गणतन्त्र भएको उल्लेख गर्दै उहाँले यो जनताले जनताकै लागि लडेर ल्याएको व्यवस्था भएको बताउनुभयो। जनताका छोराछोरीले आफ्नै प्रतिनिधित्वमा शासन व्यवस्था चलाउन सक्ने र उनीहरू नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुखसम्म हुन सक्ने वातावरण गणतन्त्रमा मात्रै सम्भव भएको उहाँको भनाइ थियो। मुख्यमन्त्री बानियाँले हिजो लोकतन्त्र र गणतन्त्रका लागि आफ्नो बलिदान दिने सहिदहरूको सपना साकार पार्न तथा शासन व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै गणतन्त्रलाई वास्तविक रूपमा जनताकै व्यवस्था हो भनेर महसुस गराउनु आफूहरूको प्रमुख दायित्व भएको कुरामा जोड दिनुभयो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले मूल आयोजक समितिको बैठकले खेलकुद, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको संयोजनमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुभयो। दिवसका अवसरमा ‘गणतन्त्रका अठार वर्षः कार्यान्वयन र चुनौती’ विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, रक्तदान, वृक्षरोपण, सरसफाइ, पाँच हजार मिटर खुला दौड प्रतियोगिता तथा जेठ चौध, पन्ध्र र सोह्र गते तीन दिनसम्म दीपावली गर्ने कार्यक्रम तय गरिएको छ। जेठ पन्ध्र गते बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विशेष मञ्चको आयोजना गरी प्रवचन तथा सम्मानलगायतका औपचारिक कार्यक्रमहरू गरिने मन्त्रालयले जनाएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार