दैजी–बेलडाँडी सडकमा बाघको आक्रमण: सुरक्षा पोस्ट र मोबाइल टावर स्थापना गर्न सांसद धामीद्वारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघको आक्रमणबाट एकै परिवारका सदस्यसहित ४ जना घाइते भएको घटनाप्रति सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। संसदमा बोल्दै सांसद धामीले दैजी–बेलडाँडी सडक खण्डको निकुञ्जभित्र पर्ने करिब १५ किलोमिटर क्षेत्रमा यात्रुहरूको सुरक्षाका लागि तत्काल स्थायी सुरक्षा पोस्ट स्थापना गर्न र आपत्कालीन अवस्थामा सञ्चार सहज बनाउन मोबाइल टावर स्थापना गरी नेटवर्कको समस्या समाधान गर्न माग गरे। साथै, उनले बेलडाँडी लगायत निकुञ्ज आसपासको ५ सय मिटरभित्र पर्ने भू-भागलाई सामुदायिक वन घोषणा गर्नुपर्ने र वन्यजन्तुको आक्रमणबाट प्रभावित नागरिकले सहज रूपमा राहत तथा क्षतिपूर्ति पाउने गरी तत्काल विद्यमान कानुन संशोधन गर्नुपर्ने आवश्यकता समेत औंल्याए।

मंगलबार बेलुका महेन्द्रनगरबाट बेलौरीतर्फ घर फर्किने क्रममा बेलडाँडीको कालिकिच नजिकै बाघले मोटरसाइकलमा सवार परिवारमाथि अचानक आक्रमण गरेको थियो। घाइते बिरेन्द्र ठगुन्नाका अनुसार बाघले सुरुमा आफूमाथि आक्रमण गर्दा मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेको थियो, जसलगत्तै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो। बाघको आक्रमणबाट बेलौरी नगरपालिका–९ रतनपुरका बिरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स ठगुन्ना र भीमदत्त नगरपालिका–१५ खैरभट्टकी बालिका आरुसी शाहु घाइते भएका छन्। घाइतेहरूको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको छ र हाल त्यहीँ उनीहरूको उपचार भइरहेको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार