कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्थानीय साधनस्रोतको उपयोग गर्दै न्यून आय भएका समुदायलाई आर्थिक रूपमा सक्षम बनाउन ‘एक वडा–एक उद्यम’ कार्यक्रम सञ्चालन गरेको छ। परम्परागत सीपलाई आधुनिक बजारको मागसँग जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ नगरपालिकाको उद्यम विकास शाखाले प्रत्येक वडालाई २ लाख रुपैयाँ बजेट विनियोजन गरी स्थानीय सम्भावनाका आधारमा सीपमूलक तालिम प्रदान गरेको छ। यस अन्तर्गत वडा नम्बर १ मा बेसार प्रशोधन, वडा २, ६ र ११ मा दुनाटपरी, वडा ३ मा सिन्की तथा अचार, वडा ४ मा परम्परागत पोसाक, वडा ५ मा सिमेन्ट टायल, वडा ८ मा काष्ठकला, वडा ९ मा गड्यौँला मल र वडा १० मा गुन्द्री बुन्ने तालिम सञ्चालन गरिएका छन्।
हालसम्म १२० जना प्रत्यक्ष लाभान्वित भएको यस कार्यक्रममा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको सहभागिता रहेको छ। तालिमप्राप्त नागरिकलाई सङ्गठित गरी घरेलु तथा लघुउद्यम स्थापना गर्ने तथा उद्योग सुरु गर्न चाहनेलाई अनुदानमा औजार र प्राविधिक सहयोग उपलब्ध गराउने तयारी नगरपालिकाले गरेको छ, जसले वैदेशिक रोजगारीको विकल्पमा स्थानीय स्तरमै स्वरोजगार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।



