काठमाडौैं । प्रतिनिधिसभाको बैठकमा आइतबार भएको उग्र विरोध र अमर्यादित घटनालाई लिएर सभामुख डोलप्रसाद अर्यालले आन्तरिक छानबिन र कारबाहीको तयारी थालेका छन्। आजको संसद् बैठक सुरु हुनअघि सभामुख अर्यालले संसद् सचिवालयका उच्च अधिकारीहरूसँग यस विषयमा सघन छलफल गरेका हुन्।
सङ्घीय संसद् सचिवालयका महासचिव लगायतका पदाधिकारीहरूसँगको परामर्शमा सभामुखले संसद्भित्र हुलहुज्जत गर्ने, मर्यादा मिच्ने र भौतिक क्षति पुर्याउन खोज्ने सांसदहरूमाथि कस्तो कानुनी र नियमसम्मत कारबाही गर्न सकिन्छ भन्नेबारे राय लिएका छन्। यद्यपि, सोही बैठकमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई लिएर भने सभामुखले खासै ठुलो चासो नदेखाएको सचिवालय स्रोतले जनाएको छ।
हिजोको बैठकमा प्रतिपक्षी दलका केही माननीयहरू निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए। विरोधकै क्रममा एक महिला सांसदले कुर्सी नै उठाएर प्रहार गर्न खोजेकी थिइन् भने केही सांसदहरू सुरक्षामा खटिएका मर्यादापालकहरूमाथि नै जाइलागेका थिए। स्थिति नियन्त्रण बाहिर जान लाग्दा सभामुखको रोस्ट्रम र टेबलसमेत तानातान भएको थियो। सो असम्य व्यवहार र घम्साघम्सीबीच ड्युटीमा रहेका केही मर्यादापालकहरू घाइते भएको संसद् सचिवालयले जनाएको छ। संसद्को गरिमामाथि नै आँच आउने यस्तो व्यवहार गर्नेहरूमाथि कडा कदम चाल्ने मुडमा सभामुख देखिएका छन्।



