काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन तत्कालीन गृहमन्त्री एवं वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग बयान लिनुपर्ने माग गर्नुभएको छ। पूर्वराजपरिवारको सामूहिक हत्या भएको २५ वर्ष पुगेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहीले सो माग गर्नुभएको हो।
विगतको सो बीभत्स घटनामा ज्यान गुमाएका पूर्वराजपरिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाहीले मुलुकमा अझै पनि न्यायको खोजी भइरहेको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “राजपरिवारले नै न्याय नपाएको देशमा गरिब, दुःखी र निमुखा जनताले कसरी न्याय पाउँछन्?”
घटना भएको लामो समय बितिसक्दा पनि हत्याकाण्ड कसले र किन गर्यो भन्ने प्रश्न आम नेपालीको मनमा अझै अनुत्तरित रहेको भन्दै उहाँले यसको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ। सोही छानबिन प्रक्रियाको सिलसिलामा वर्तमान राष्ट्रपति पौडेललाई पनि समेट्नुपर्ने उहाँको तर्क छ।
सरकारलाई अपिल गर्दै राप्रपा नेता शाहीले भन्नुभएको छ, “दरबार हत्याकाण्ड हुँदाका बखत देशको गृह प्रशासन सम्हाल्नुभएका व्यक्ति नै अहिले राष्ट्रपतिको गरिमामय पदमा हुनुहुन्छ। तत्कालीन परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण सूचना, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य उजागर गर्न उहाँको बयान लिने वा छानबिनमा सहयोग माग्ने विषयमा सम्बन्धित निकायले कदम चाल्नुपर्छ।”



