काठमाडौं । सङ्घीय संसद्को झन्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा सम्मानित हुनुभएको छ। सङ्घीय संसद् सचिवालयमा आयोजित एक विशेष समारोहका बीच उहाँलाई भव्य सम्मान गरिएको हो।
सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रсад दाहाल, उपसभामुख रुबी ठाकुर र राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले आरोही सांसद शेर्पालाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो। सो अवसरमा विश्वकीर्तिमानधारी आरोही शेर्पालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी, सचेतक प्रकाशचन्द्र परियार तथा विभिन्न संसदीय समितिका सभापतिहरूले बधाई एवं शुभकामना ज्ञापन गर्नुभएको थियो।
विशेष समारोहमा आरोही सांसद शेर्पाले सगरमाथाको उच्च शिखरमा फहराउनुभएको सङ्घीय संसद्को ऐतिहासिक झन्डा सभामुख अर्याल र राष्ट्रियसभाका अध्यक्ष दाहाललाई हस्तान्तरण गर्नुभएको थियो। सङ्घीय संसद्को इतिहासमै बहालवाला सांसदले सर्वोच्च शिखरमा संसद्को प्रतिनिधित्व गर्दै झन्डा फहराएको यो पहिलो अवसर हो।



