काठमाडौं । नेपाल आगामी आसन्न एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ। मलेसियामा जारी छनोट प्रतियोगिता अन्तर्गत मङ्गलबार भएको खेलमा घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले पराजित गरेसँगै नेपालले जापानमा आयोजना हुने एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलमा चीनले दिएको ८५ रनको सामान्य लक्ष्य पछ्याएको मलेसियाले मात्र ७.५ ओभरमा एक विकेट गुमाएर जित हासिल गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८४ रन मात्र बनाउन सकेको थियो।
चीनमाथिको यस जितसँगै मलेसिया पनि यो समूहबाट एसियन गेम्सका लागि छनोट हुन सफल भएको छ। समूह ‘ए’ बाट नेपाल र मलेसिया दुवै टोली अर्को चरणमा पुगेपछि अब यी दुई देशबिच बिहीबार हुने अन्तिम खेलले समूह विजेताको टुङ्गो लगाउनेछ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनको विशाल अन्तरले हराउँदै बलियो स्थिति बनाएको थियो। प्रतियोगिताको समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन्। समूहका शीर्ष दुई टोलीहरू एसियन गेम्सका लागि छनोट हुने प्रावधान रहेको छ।



