नवजीवन अस्पतालमा युवतीको मृत्युपछि तनाव, चिकित्सकमाथि लापरबाहीको आरोप

प्रकाशित मिति:

धनगढी कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा एक युवतीको ज्यान गएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ की २२ वर्षीया सानु बिकको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टन्सिलको उपचारका लागि अस्पताल भर्ना भएकी बिकको गत जेठ ९ गते शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएपछि डिस्चार्ज भएर घर फर्किएकी उनको स्वास्थ्यमा अचानक पुनः समस्या देखिएको थियो। मुखबाट रगत बग्न थालेपछि उनलाई मंगलबार आकस्मिक रूपमा फेरि सोही अस्पताल पुर्‍याइएको थियो। स्थिति जटिल भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिए पनि बुधबार बिहान २ बजेर ४६ मिनेटमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

युवतीको अल्पायुमै मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयबासीले चिकित्सकको गम्भीर लापरबाहीका कारण घटना घटेको आरोप लगाउँदै अस्पताल क्षेत्रमा नाराबाजी र विरोध प्रदर्शन गरिरहेका छन्। स्थिति थप बिग्रन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी टोली खटाइएको छ। घटनाको यथार्थ बुझ्न प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

ताजा समाचार