प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कडा आपत्ति

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट देशहित विपरीतका अभिव्यक्ति दिएको आरोप लगाउनुभएको छ। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालले भारतको कुनै पनि भूभाग नमिचेको दाबी गर्नुभयो।

संसद्मा प्रधानमन्त्रीले दिएको सो वक्तव्यप्रति कडा आपत्ति जनाउँदै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहेका व्यक्तिले संसद्को रोष्ट्रममा उभिएर पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती कुराहरू बोल्नुहुँदैनथ्यो। संसद्मा नेपालकै विपक्षमा बोलिनु र नेपाली जनताको भावनामाथि ठेस पुर्‍याउनु निन्दनीय छ।’

एमाले अध्यक्ष ओलीले त्यस्ता गम्भीर र देशहित विपरीतका कुराहरूलाई पनि केही मानिसहरूले समर्थन गरेको देख्दा अचम्म लागेको बताउनुभयो। सीमाजस्तो संवेदनशील विषयमा दुई देशबीचको छलफलमा तेस्रो मुलुकलाई तान्न खोज्नु कूटनीतिक मर्यादा विपरित भएको उहाँको टिप्पणी थियो।

छिमेकी मुलुकहरूसँगका सीमा विवादहरू दुई पक्षीय वार्ता र छलफलकै माध्यमबाट समाधान गरिने परराष्ट्र नीति रहेको स्मरण गराउँदै ओलीले भन्नुभयो, ‘यस्ता विषयमा तेस्रो पक्षलाई सहभागी गराइँदैन। प्रधानमन्त्रीले यसलाई नेपालको नीति भन्नुभयो, तर नेपाल कसैको व्यक्तिगत सम्पत्ति होइन। यो देश वर्तमान नेतृत्व जन्मनुभन्दा धेरै अघिदेखि अस्तित्वमा रहेको इतिहास छ।’

ताजा समाचार